आकर्षण: एक अपवाद



नेपालका मेनपावर कम्पनी बदनाम छन्। उनीहरू बेरोजगार युवाहरूलाई आकर्षक प्रलोभन देखाएर विदेश पठाउने बहानामा यहीँ ठग्छन् र उता पुगेपछि पनि ठग्न छाड्दैनन्। यही कारण वैदेशिक रोजगारीका लागि विदेश पठाउने मानिस र कम्पनी भन्नासाथ नेपाली समाज सतर्क भइहाल्छ अनि शंकाको दृष्टिले हेर्छ। मेनपावर कम्पनी र उनीहरूद्वारा पालितपोषित बिचौलियामार्फत ठगिएका हजारौँको वेदनाले यस्तो वातावरण सिर्जना गरेको हो।

अपवाद हरेक ठाउँमा हुन्छ। सबै ठाउँ खराब व्यक्तिले मात्र भरिएको हुँदैन। सामान्यतः खराब काम गर्नेहरूले सञ्जाल फैलाएका हुन्छन्। राम्रो काम गर्ने व्यक्तिले कुनै दिन आफ्ना असल कार्य सार्वजनिक हुने अपेक्षा गरेका हुन्छन्। बदनाम मेनपावर कम्पनीहरूबीच एउटा यस्तै अपवाद कम्पनी देखापरेको छ–आकर्षण इन्टरनेसनल। जसले कामका लागि विदेश पठाएका बेरोजगारबाट श्राप होइन, आशीर्वाद पाइरहेको छ। ठूलो गुन लगाइदिएको जस बटुलिइरहेको छ र मित्रताको गाँठो झन् कसिलो बनाइरहेको छ। सामाजिक सञ्जालमा यस कम्पनीबारे प्रशंसाका शब्दले भरिएका छन्। यो असल काम नगरी प्राप्त हुने सन्देश होइन।

हो, यो कम्पनी अरू जस्तो बिचौलियामार्फत आउनेलाई स्वागत गर्दैन। उल्टै निरुत्साहित गर्छ। धेरै मेनपावर कम्पनीले बिचौलियामार्फत ठगी गर्ने र आफू भने पानीमुनिको ओभानो हुने प्रयास गरिरहेका बेला यसले बिचौलियारहित सेवा प्रदान गरेर लाभग्राहीलाई ठूलै गुन लगाएको छ। जसका कारण न बिचौलियालाई पैसा दिनुपर्छ न त उसले पैसा खाइदिने तर बिचौलियाको काम नगरिदिने भएकाले बिचल्ली हुनुपर्छ। बरु सजिलै विदेश गएर पूर्वनिर्धारित कार्य गर्न पाइने अवसरबाट सर्वसाधारण लाभान्वित भएका छन्।

घरबाट हिँडेदेखि काठमाडौँका गल्ली गल्ली चहार्दा मात्र होइन, राहदानी बनाउनेदेखि श्रमसम्बन्धी अन्य कागजपत्रका कारणसमेत पाउनुसम्म सास्ती पाउने गर्छन् वैदेशिक रोजगारीमा जान चाहनेहरू। यस क्रममा उनीहरू यस्तो हैरानी बेहोर्न बाध्य हुन्छन् ताकि ठगिएको पैसा बरु गिट्टी कुटेर तिरौँला तर यहीँ यति हन्डर खाएर विदेश नजाऊँ भन्ने निष्कर्षमा पुग्छन्। यस्तो परिस्थितिबीच आकर्षणले यो कम्पनीमार्फत विदेश जान चाहनेलाई घरबाट हिँडेदेखि नउडुन्जेलसम्मको सबै खर्च बेहोर्छ। त्यति मात्र होइन, राहदानीलगायतका अत्यावश्यक कागजात बनाउनसमेत सहयोग गर्छ। कुरा यत्ति हो कि मात्र यो कम्पनीको सम्पर्कमा पुग्नुपर्‍यो।

एकातिर ‘फ्री भिसा र फ्री टिकट’को नारा दिने अर्कातर्फ घुमाउरो पाराले लाभग्राहीसँग सबै असुल्ने काम गर्दै आएका छन् मेनपावर कम्पनीहरूले। खासगरी बिचौलियालाई अघि सारेर गरिने यस्तो ठगीबारे प्रश्न उठाउनेलाई प्रमाण देखाउने चुनौतीसमेत दिँदै आएका छन्। यही कारण उनीहरू कानुनी कारबाहीबाट समेत बच्दै आएका छन्। यस्तो अवस्थामा आकर्षणले भने खुलेआम यी सबै सेवा बिनाशुल्क उपलब्ध गराउँछ। यहाँसम्म कि यी सबै प्रक्रियामा जाँदा/आउँदा लाग्ने गाडीभाडा र राहदानी शुल्कसमेत बेहोर्छ। यसरी हेर्दा आकर्षणले वास्तवमै निःशुल्क रूपमा नेपालीलाई वैदेशिक रोजगार गन्तव्य थलो पुर्‍याइरहेको छ। ‘आकर्षण’प्रति आममानिसमा आकर्षण बढ्नुका मुख्य कारण यिनै हुन्।

आकर्षण न नयाँ कम्पनी हो न त यसले कुनै जादु नै गर्छ। २० वर्षभन्दा अघिदेखि हजारौंलाई वैदेशिक रोजगारीका लागि पठाइरहेको यो कम्पनीको कामबाट प्रमाणित हुन्छ कि लाभग्राहीबाट एक पैसा नलिई पनि विदेश पठाउन सकिन्छ। दक्षिण कोरिया सरकारको संलग्नताका कारण रोजगार अनुमति प्रणाली (इपिएस) एउटा अनुकरणीय ढंगले विदेश पठाउने प्रक्रिया बनिरहेको छ। कि सरकार आफैं सक्रिय हुनुपर्छ कि सम्बन्धित मेनपावर कम्पनी आफैं प्रतिबद्ध भएर सेवा गर्न तयार हुनुपर्छ। सेवा दिन तयार हुने हो भने त्यसमा आम्दानी पनि छ। सेवा गरे मेवा पाइन्छ।

मेनपावर कम्पनीले आफैैं गर्नुपर्ने खर्चसमेत बेहोरेर पनि विदेश पठाउन सक्छन्। रोजगारदाता कम्पनीसँग सम्झौता गरेर यस्तो सेवा दिन नसकिने होइन। यस्तो काम पनि गर्न सकिने रहेछ भने किन सयौँ मेनपावर कम्पनी गरिब र विपन्न बेरोजगार युवाहरू ठग्न उद्यत छन्? त्यति मात्र हैन, आफैँले कामका लागि पठाएका कामदारबाट वाहवाही पनि त पाइने रहेछ नि, आखिर किन सबै कम्पनी आकर्षण जस्तो हुन सकेनन्? के बाध्यता आइपर्‍यो यिनलाई ठग्नै पर्ने? गरिबलाई निचोर्नै पर्ने? यस्ता पनि छन् प्रश्न।

सरकारले च्याउझैँ गल्लीपिच्छे उम्रेका मेनपावर कम्पनीहरूको छाँटकाँट गर्नुपर्छ अब। जो आकर्षणको मार्गमा हिँड्न तयार हुन्छन्, उनीहरूलाई राख्नुपर्छ, प्रोत्साहन पनि गर्नुपर्छ। जो यो मार्ग अवलम्बन गर्न सक्दैनन् वा चाहँदैनन्, उनीहरूलाई सक्दो चाँडो बिदा गर्नुपर्छ। अनि मात्र हाम्रा विशेषगरी अदक्ष कामदारले दिनदहाडै ठगिनुपर्ने अवस्था कम हुन्छ। देशमै रोजगारी नभएको अवस्थामा पनि आफ्नो श्रम बेचेर आफू र परिवारको भविष्य बनाउन सक्षम हुने छन्। देशले पनि यस्ता युवाबाट प्राप्त रेमिटान्सबाट अर्थतन्त्रलाई सुधारको बाटोमा हिँडाउन  सक्षम हुन्छ।  


Source: Nagarik News

/* Target the images in your grid */ .sector-image img { width: 100% !important; height: 280px !important; /* You can adjust this height to fit your design */ object-fit: cover !important; object-position: center !important; border-radius: 8px; /* Optional: adds rounded corners for a softer look */ }